‘लोग्ने विदेशमा..? बिग्रिएउला है..’
अनि श्रीमान् ? —- विदेशमा । ए होर ? त्यसो भए अलि विचार पुर्याएर हिड्नुस् है, मैले लोग्ने विदेशमा भएका धेरै स्वास्नी मान्छे विग्रिएको देखेको छु । अक्सर यस्तो कमेन्ट मैले सुन्ने गरेकी छु ।
केही महिना पहिले एक अनलाईनले प्रकाशित गरेको अप्रमाणित समाचारको लिंक श्रीमान्ले विदेशबाट पठाए । ‘लोग्ने कतारमा, स्वास्नीको मस्ती अर्कैसँग गेष्ट हाउसमा’ शीर्षकको समाचार थियो । खोलेर पढेँ, सिन्धुपाल्चोकको कुनै गाउँको नाम उल्लेख थियो । त्यही गाउँकी नाम परिवर्तित महिला भनेर उक्त समाचारमा कुनै प्रमाण नदिई र पुष्टि नगरी समाचार दिइएको थियो । नाम परिवर्तित भन्ने वाक्यको आडमा प्रकाशित उक्त समाचार साँचो भएको कुनै प्रमाण थिएन, त्यसैले झुटो नै थियो । तर त्यसले विदेशमा कार्यरत थुप्रै युवाको मुटुको धड्कनलाई तेज बनाएकै हुनुपर्छ । किनभने, आफ्नो जिवनसँग जोडिएका समाचारले हरेकलाई छुन्छ नै ।
यौनसँग जोडेर भिजिटर बढाउन बनाइएका यस्ता समाचार आफ्नो उदेश्यमा त सफल होलान् तर, गलत सन्देश फैलाएर समाज नै भ्रष्ट भएको प्रचार गरिरहेका छन् भन्ने सम्बन्धित निकायले कहिले बुझ्ने
यस्ता अप्रमाणित र अपुष्ट समाचार विविध नाममा खुलेका अनलाइनमा थुप्रैथुप्रै प्रकाशित हुनेगर्छन् । न त त्यहाँ ठ्याक्कै ठाउँ उल्लेख हुन्छ, न त व्यक्तिको नाम नै । अझ समाचार लेख्नेको नामसमेत हुदैन, त्यस्ता समाचारमा । यौनसँग जोडेर भिजिटर बढाउन बनाइएका यस्ता समाचार आफ्नो उदेश्यमा त सफल होलान् तर, गलत सन्देश फैलाएर समाज नै भ्रष्ट भएको प्रचार गरिरहेका छन् भन्ने सम्बन्धित निकायले कहिले बुझ्ने र उनीहरुलाई कानुनी दायरामा कसले ल्याउने ?
अस्ति मात्र मामाको छोरीको विवाहमा सामेल हुँदाको घटना हो । मेरी जन्मदिने आमालाई साइनोमा माइजु पर्ने महिलाले सोधिन्, अनि ज्वाईँ चाहिँ कहाँ हुनुहुन्छ ? आमाले विदेशमा भन्न नपाउँदै उनी भन्न थालिन्, ‘छोरी सारै राम्री रहिछन्, लौ है ख्याल राख्नु, विदेशमा लोग्ने हुनेहरुले त सत्यनास नै गरेका छन् । विग्रिएका थुप्रै घटना सुनेकी छु मैले त ।’
जहाँ जान्छु, मेरो रुपलाई जोडेर मेरो विचार, नियत र अस्तित्वमा प्रश्न गर्नेहरु थुप्रै भेट्छु । रुप राम्रै हुनेहरुको मात्र सोच गलत हुने हो ? या जसले पनि सोच परिवर्तन गर्न सक्छ ? यसको जवाफ मैले पाएको छैन । अर्काेतिर, अहिले सम्म मैले देखेकी र सुनेकी छैन, अर्काकी स्वानी फलानो पुरुषले उडायो, अर्काकी स्वास्नीसँग होटल या गेष्टहाउसमा फलानो पुरुष भेटियो भन्ने समाचार । आखिर किन सम्पूर्ण दोष महिलालाई थोपरिन्छ ? के पुरुषलाई खुट्टा र महिलालाई जुत्ता बनाइरहेको छ समाज अहिले पनि ?
विदेशिएको कुनै पनि लोग्नेलाई श्रीमतीको अरु कुनै विषयमा भन्दा वढी चिन्ता विग्रिनुमा हुन्छ । विग्रिनु भनेको के ? कोही पुरुषसँग शारीरिक सम्पर्क कायम गर्नु अर्थात सेक्स क्रिया ? यौन क्रिया, काम क्रिया, सम्भोग, सहवास, संसर्ग । यस्तो कार्यको लागि के श्रीमान् या श्रीमति विदेशिनै पर्छ र ?
केही महिना पहिले मेरो घरको तलको फ्ल्याटमा एक जना महिला बस्थिन् । उनको जीवन प्राय त्यही कोठामा सीमित देखिन्थ्यो ।
बहिनी कति कोठामा मात्र बस्नु हुन्छ हिड्नुहोस्, तरकारी किन्न । एकदिन मैले भनेँ । एकैछिन् है भन्दै उनले पनि मसँगै जाने संकेत गरिन् । म उनको फ्याल्टको बाहिरपट्टि पर्खिरहेँ । १० मिनेट पछि मात्र उनी निस्किइन् ।
‘दिज्जु, श्रीमान्लाई भनेर मात्र निस्किनु पर्छ नत्र मारिसिन्छ । अनि लोकेसन म्यापको एप्स सधैँ अन राख्नु पर्छ । म जहाँ छु त्यो उहाँले थाहा पाउनु पर्छ । मेरो फेसबुकको पासवर्ड नि उहाँलाई थाह छ खोलेर हेरिराख्नु हुन्छ । त्यही भएर म
म एक्लै तरकारी किनेर फर्किदा उनको फ्ल्याटबाट एक जवान निस्कियो । मैले उसलाई नियालेँ, ऊ गेट बाहिर रोकेको पल्सरमा चढेर हुईँकियो । त्यसपछि त दुईदिन, तीन दिनमा उ देखिनथाल्यो ।
हत्तपत्र कोठाबाहिर निस्किन्न । निस्किहाले पनि यसरी नै …’ हातको मोबाइ देखाउँदै भनिन् ।
ओहो तपाईँको जीवनको रिमोट कन्ट्रोल त विदेशमा पो रहेछ है ? भर्याङबाट ओर्लदै मैले भनेँ ।
विवाह भएको २९ दिनमै उहाँ उड्नु भएकाले शंका लाग्नु पनि स्वाभाविक नै होला, उनले चित्त बुझाउँदै भनिन् ।
करिब १ महिना पछि फेरि उनको फ्ल्याटको घण्टी बजाएँ । उनले ढोका खोलिनन् । म एक्लै तरकारी किनेर फर्किदा उनको फ्ल्याटबाट एक जवान निस्कियो । मैले उसलाई नियालेँ, ऊ गेट बाहिर रोकेको पल्सरमा चढेर हुईँकियो । त्यसपछि त दुईदिन, तीन दिनमा उ देखिनथाल्यो ।
विचरो उसको लोग्ने श्रीमतीको फ्ल्याटको लोकेशन देखेर पहिले जस्तै मख्ख थियो, होला । मैले एकदिन मौका मिलाएर सोधेँ । बहिनी तिम्रोमा आइरहने त्यो एउटा भाइ चाहिँ को हुन् ?
ए, ऊ, ए, ऊ…अफ्ठ्यारो मान्दै उनले भनिन्, साथी ।
करिब एक महिना पछि उनी त्यो घरबाट सरिन् । मलाई अचम्म लागिरह्यो, सबै सुविधा भएको फ्ल्याट छाडेर किन हिडिन् ?
यो प्रसङ्ग किन ल्याएको हुँ भने, कसैको प्रयासले कुनै पनि कार्यलाई रोक्न सक्दैन । सक्छ त केवल सम्वन्धित व्यक्तिले मात्र ।
हाल वैदेशिक रोजगारीको लगि विभिन्न देशमा महिलाहरु पनि लाखौँको संख्यामा गएका छन्, तिनमा पनि विवाहित नै धेरै छन् । तिनका श्रीमान् पत्नीव्रता भएर प्रतिक्षा गरिरहेका होलान् ? अक्सर महिलालाई यौनसँग जोडेर समाचार बनाउने अनलाइनहरुले खै त पुरुषका समाचार प्रकाशित गरेका ? कि पुरुषलाई जस्तोसुकै कार्य गर्न छुट दिएको छ समाजले ?
विदेशिने सबै युवाका सबै श्रीमतिले परपुरुषसँग सम्वन्ध राख्छन् नै भनेर कसैले भन्न नसक्ला । पति बिदेश भएर एक्लो बनेका १० हजारमा १ जनाले त्यस्तो सम्बन्ध राख्न पनि सक्लान् । तर, त्यही एउटा घटनालाई निहुँ बनाएर विदेशिएका सबै लोग्नेका स्वास्नीहरुलाई आरोपित गर्न र शंकाको घेरामा राख्न पाइन्छ ? यौन क्रियासँग जोडेर विना प्रमाण, पुष्टि विभिन्न प्रश्न गर्नु, शंकास्पद दृष्टिले हेर्नु सामाजिक दुव्र्यवहार होइन ?
मेरी एक मित्र छिन् । उनी आफ्नो लोग्नेसँग कोटेश्वरमा बस्छिन् । केही वर्ष पहिले क्याम्पस पढ्दा उनको एक प्रेमी थिए, मेरै सहपाठी हुन् दुवै । हिजो मात्र भेट हुँदा मैले सोधेँ के तिमी अहिले पनि प्रितमलाई भेट्छौ ?
‘उसको आफ्नो वैवाहिक जीवन छ मेरो पनि आफ्नै, तर पनि मौका मिल्नासाथ हामी भेट्ने र दुःखसुख बाँड्ने गर्छौँ’ उनको जवाफ थियो ।
कहाँ भेट्छौ ? घर परिवार र समाजले प्रश्न उठाउला नि ?
‘समाजले हाम्रो सम्बन्धलाई नकरात्मक रुपमा हेर्छ, त्यो हामीलाई थाह छ त्यसैले त लुकिछिपी गेष्टहाउसहरुमा भेट्ने गर्छौँ ।’
म ट्वाल्ल परे । प्रेमिकाको श्रीमान् साथमा, प्रेमीको श्रीमती साथमा, फेरि पनि लुकिछिपी …।
यसले देखाउँछ, कुनै पनि सम्बन्ध कायम हुन लोग्ने स्वानी सँगै हुनु र नहुनुको कुनै अर्थ नहुने रहेछ ।
हिजो मात्र फेसबुकमा एक मित्रले भने, के गर्नु म्याडम एक्लो छु ।
आश्चर्य मान्दै सोधें, किन के भयो र सर…? म्याडम कता जानु भयो र ? ऊ माइत गएकी छे ।
ए, ए ।
बरु एसो मिलाएर भोलितिर भेटौँ न ?
‘सरी मलाई बिना काम, अनावश्यक कसैलाई भेट्ने फुर्सद छैन’ त्यति भनेपछि मैले अरु कुरा गरिन । स्वास्नी दुई दिन माइत जाँदा स्वतन्त्रता दिवस मनाउन सुरु गर्ने पुरुषहरुलाई के थाह, प्रत्येक दिन विदेशिएका लोग्नेका लाखौं इमान्दार स्वास्नीहरु वर्षौ आफ्नो लोग्नेलाई प्रतिक्षा गर्न सक्छन् ।
समाज भनेको म, तिमी, हामी नै हौं । लाखौँमा एकले गरेको गल्तीको सजाय सबैलाई नदिऔं । निर्दोष मान्छेलाई शंकाको घेरामा नराखौँ । मानसिक पीडाले मान्छेलाई काम गर्न नसक्ने बनाउँछ र त्यसो भएपछि मानिसको प्रगति रोकिने नै भयो । जब घरपरिवार र समाजले गलत नजरले हेर्दैछ भन्ने कसैलाई वोध हुन्छ भने त्यो स्वयंमा यातना हो, अझ हरेकलाई स्पष्टिकरण दिन वाध्य बन्नु त झन ठूलो मानसिक यातना हो । यो एक तिरस्कार र दुव्र्यवहार पनि हो । कसैको आत्मसम्मान र स्वाभिमानमा ठेस नपुर्याउँ । इमान्दारिताको कदर गरौँ । आफ्नो जीवन स्वतन्त्ररुपमा बाँच्न पाउनु हरेक मानवको अधिकार हो ।


0 comments
Write Down Your Responses