भारतमा प्रचन्डपत्नीको शिष्टाचार: जानीजानी कि अज्ञानता?
राष्ट्र प्रमुख वा देशका
प्रधानमन्त्रीको विदेश भ्रमणमा उनीहरुले लगाएका पहिरन, उनीहरुको शिष्टाचार, बोली आदि लगायतका कुराहरुले चर्को महत्व पाउनु सामान्य कुराजस्तो भइसकेको छ आजकाल बिशेषगरी सोसल मिडियाका कारणले।
प्रधानमन्त्रीको विदेश भ्रमणमा उनीहरुले लगाएका पहिरन, उनीहरुको शिष्टाचार, बोली आदि लगायतका कुराहरुले चर्को महत्व पाउनु सामान्य कुराजस्तो भइसकेको छ आजकाल बिशेषगरी सोसल मिडियाका कारणले।
प्रचन्डपत्नी सीता दाहाललाई म व्यक्तिगत हिसाबले चिन्दिनँ, उनीप्रति सहानुभुति जनाउन वा उनका बारेमा लेख्न कुनैं नाता पर्ने पनि होइन। तर दिनभरजसो नैं सामाजिक सन्जाल विशेषगरी फेसबुकमा भाइरल बन्दै गरेको सीता दाहालका तस्वीरहरुले एक किसिमले हैरान नैं पार्यो।
बेलायती राजकुमार विलियम र राजकुमारी केटले भारतको भ्रमण गर्दा मोदीलाई सामाजिक सन्जालहरुमा उदांगो पारिएको धेरै भएको छैन । तर राजकुमारी केटजस्तो हाइ प्रोफाइल नभए पनि, मिसेल ओबामाजस्तो प्रभावशाली व्यक्तित्व नभएपनि, फेरि उही प्रसंगमा नेपालका प्रधानमन्त्री प्रचन्डपत्नी सीता दाहाल राम्रैसँग तानिन पुगिन्।
सामाजिक सन्जालहरुमा यति गहिरो पहिरो गएको छ भन्ने कुरा शायद उनले प्रधानमन्त्रीका कुनैंपनि कर्मचारीहरुबाट थाहा पाउनेछैनन् । प्राय फेसबुकमा सक्रिय देखिने उनका पुत्र प्रकाश दाहालले खबर गरिदिए भने कुरो अर्के ।
सामाजिक सन्जालमा सीता दाहालप्रतिका धेरै तिक्त तर केही नरमा खालका प्रतिक्रियाहरु हेर्दा, सुन्दा म पनि केहिबेर कन्फ्युज्ड जस्तो भएँ। यतिका वर्षमा उनले केहि त सिक्नुपर्ने थियो, वा यो त्यति ठूलो कुरा होइन, ठूलो बनाइएको हो भन्ने दुई तर्क दिमागमा नाचिरह्यो। प्रचण्ड जंगल छोडेर शहर लागेको निकै वर्ष भयो र काठमाडौंको आलिसन महलमा बस्छन्। नोकरचाकर पनि टन्नै होलान् । परेका खन्डमा लाखौं तिरेर पनि आफ्नी श्रीमतीलाई अझैं पढाउन, लेखाउन, आधुनिक र सभ्य बनाउन सक्दा हुन्।
तर यी सामान्य नारी वर्षौ बित्दा पनि परिवर्तन हुन सकिनछन्। कि त उनले बेवास्ता गरेर शिष्टता नदेखाएको भन्नुपर्यो । म पछिल्लो अनुमानमा आफैं सहमत हुन सकिनँ। सामाजिक सन्जालमा एकजनाले लेखेको देखेँ, सीता दाहाल अशिक्षित, आधुनिक संस्कार र सभ्यता सिक्न नपाएका वा नजानेका लाखौं नेपाली महिलाहरुका प्रतिनिधि हुन् । त्यो तर्कमा अलिकति दम छ जस्तो लाग्यो ।
एकैछिनमा फ्रान्सबाट अनुराधा पौडेलले लेखेको स्ट्याटसले मेरो चित्त बुझायो। उनको स्टेटशका केही वाक्यहरु थिए, जो मानिसले भीडभाडमा या अरुसंगको संवादका बेला आफूलाई असुरक्षित ठान्छ या उसलाई मानसिक पीडा भैरहेको छुन्छ, त्यो मानिसले आत्म सुरक्षाको अनुभुतिका लागि काखिमुनी हात राख्छ । सीता म्याम नेपाली महिलाको प्रतिनिधि महिला हो। शारीरिक र मानसिक रुपमा इरिटेटेड देखिनुभएको छ उहाँ......
अनुराधाजीको यो स्टेटस पढेपछि भने सामाजिक सन्जालमा सीता दाहालप्रति गरिएका नकारात्मक प्रतिक्रियाहरुबारे मेरो धारणा परिवर्तित भयो। सामाजिक सन्जाल छ, हामी पोखिन्छौं र कहिले त्यसैमा डुब्छौं। अनुराधाजीले जस्तै सुझावसहितका बिश्लेषणहरु दिन हामीलाई अल्छी लाग्छ।
भित्तैसम्म पुग्नेगरी हामी धज्जी उडाउन पछि पर्दैनौं । देवत्वकरण र दानवत्वकरण दुवैमा हामी अतिवादी नैं भएर निस्किन्छौं ।
यसपालीको प्रचन्डको भारत भ्रमणमा श्रीमती सीताले मोदीको छेउमा हात बांधेर अंध्यारो मुख लगाएको, फेसबुकहरुमा पोष्ट गरिएको जस्तो चप्पल नैं खोलेर सोफामा एक खुट्टा माथि राखेर बसेको र मोदीको पछिपछि हुँदा नाक थुनेको जस्तो देखिने तस्वीरहरुले नेपाल भारत कुटनीतिक सम्बन्ध वा नेपालका लागि फाइदाजनक हुनसक्ने कुनैं सवालमा नेपाललाई घाटा पर्छ कि पर्दैन, त्यो मेरो विवेकले ठम्याउन सकेन।
मोदीको पछिपछि हिंड्दा सीता दाहालले नाक थुनेकोजस्तो देखिने तस्वीरलाई यति घीनलाग्दो पाराले प्रस्तुत गरियो कि, लाजैमर्दो । खोक्दा वा हाछिए गर्दा मुख छोप्ने शिष्टाचार उनले अपनाएकी हुन् कि भन्ने सकारात्मक सोच हामीमा आएन। यी केही सामान्य शिष्टाचारका कुराहरुलाई ख्यालमा नराख्नु वा राख्न नजान्नुमा हाम्रा आफ्नैं मिडिया र सोसल मिडियाहरुले धज्जी उडाउनैं पर्ने थियो वा त्यसभित्रका कारण के के होलान् भनेर बिश्लेषण पनि गर्दा राम्रो हुनेथियो होला?
मैले बुझेकी सीता दाहाल गाउँकी सामान्य साक्षर महिला हुन्। प्रचन्डका राजनीतिक विचार के हुन्, उनी मलाई मनपर्ने नेता हुन् कि होइनन्, उनको नेतृत्वमा कति नेपाली जनता मारिए आदि इत्यादिसँग सीता दाहालको प्रसंग जोड्न चाहन्नँ।
एक सामान्य ग्रामिण महिलाको प्रतिनिधिका रुपमा मात्र उनका बारेमा लेख्दैछु । उनीसँग मेरो कुनैं व्यक्तिगत उठबस छैन, तस्वीर र टेलिभिजनमा देखेको हुँ। तर थाहा छ, उनी शिक्षित र शहरीया महिला होइनन् , आधुनिक संस्कार। सभ्यताहरुको त कुरा छाडौं । बिसौं बर्ष प्रचन्ड जंगल पस्दा अन्य सामान्य नेपाली जनताले पाएको सास्ती वा त्यो भन्दा कयौं बढी सास्ती उनले पनि खपेकी हुन्। घाँस दाउरा र मेलापत गरेकी हुन् । शान्ति सम्झौता पछि प्रचन्डले जंगलको बास छोडेपछि एकाएक काठमाडौं छिरेकी सीता दाहालले जसरी शक्ति र सत्ताबाट रातारात प्रचन्ड लगायतका नेताहरु कायापलट भए, त्यो अवसर बिल्कुलै पाइनन्।
प्रचन्ड प्रधानमन्त्री भए, ठूलाबडासँग उनको उठबस भयो, बालुवाटारको प्रधानमन्त्री निवास र लाजिम्पाटको निजी निवासमा चल्ने उनका हाइ लेभल बैठकहरुमा सीता दाहाललाई तपाईँहरू कसैले कतै देख्नुभयो ? संसार फेरिएपनि सीता दाहालको चुलो चौको र घर व्यवहार फेरिएन। राजनीतिक मन्चहरुमा उनले आउने क्षमता राखिनन् र शायद रुचाइनन् पनि ।
भाइरल बनेका फोटोहरुमा नियालेर हेरेँ, प्रचन्डले चिल्लो सुट लगाएका छन्, सीता दाहालको ब्लाउजमा स्त्री पनि गरिएको रहेनछ । जंगलमा लौरो टेकेर हिलो र खोलाहरुमा हिंडेका प्रचन्डको पहिरन कहाँबाट कहाँ पुग्दा सीता दाहालको पहिरन खासै भड्किलो र स्मार्ट नहुनुमा के उनीमात्र दोषि छन्?
देशमै आमुल परिवर्तन ल्याउने वाचा गरेर हिंडेका प्रचन्डजस्ता व्यक्तित्वले समाज र देशका महिलाहरुलाई सुशिक्षित र सभ्य बनाउनु अघि आफ्नो घरको बारेमा सोच्न सक्दैनन् ?
कतिपय कुराहरु मानिसका जन्मजात स्वभाव हुन् । प्रचन्डपत्नी सामाजिक कार्यक्रमहरुमा कहिंपनि हाँस्ने गरेको देखिँदैन। भारतमा मोदीका अघि त झन् बनावटी हाँसो निकाल्न उनको क्षमताले नभ्याएको हुनसक्छ । अर्कोकुरा छोरा बुहारीको सम्बन्ध, छोरीको असामायिक मृत्यु आदिले मानसिक रुपमा उनी तनावग्रस्त रहेकी पनि हुन सक्छिन्। भारतको प्रधानमन्त्रीजस्तो एक शक्तिशाली राष्ट्रका राष्ट्र प्रमुखको अगाडि एक अशिक्षित महिलालाई सकस र दकस भएको पक्कै हुनुपर्दछ। शायद यस्ता भारहरु थाम्न नसकेर उनले हात बांधेर उभिने निधो गरेकी थिइन्।
सधैं दिदी बहिनीहरुका मात्र कुरा किन गर्ने? शिष्टाचारकै सवालमा दाजुभाइहरु पनि धेरै ठाउंमा चुक्ने गरेका छन् । भनिन्छ, आफूभन्दा मान्नुपर्ने वा आदर गर्नुपर्ने मान्छेसँग कुरा गर्दा औंला नपड्काउनु, भाषण गर्दा खल्तीमा हात नराख्नू, कलम टिकटिक नगर्नू। बेलायतमै देखेकी छु कयैन उच्च शिक्षा हासिल गरेका दाजुभाइहरू औला पडकाइ पड्काइ, खल्तीमा हात राखेर बोल्नुहुन्छ, भाषण गर्नुहुन्छ। यो वास्तवमा बानीमात्र होइन, नर्भस हुँदा पनि मान्छेले त्यसो गर्छ। जीवनको धेरै समय तनाव र गरीबिमा बिताएकी सीता दाहालको त कुरै छोडौं यहाँ।
आजकाल कुनैंपनि बिषयमा अन्धाधुन्ध पक्ष लिएर सपोर्ट वा विरोध गर्ने र सामाजिक सन्जालमा छताछुल्ल पार्ने प्रक्रिया अति नैं बढेर गएको छ। प्रधानमन्त्री पत्नीका रुपमा सीता दाहालको व्यक्तित्व बेलायती पूर्वप्रधानमन्त्री टोनी ब्लेयर पत्नी शेरी बुथ ब्लेयर वा अमेरिकी राष्ट्रपति ओबामाकी पत्नी मिसेल ओबामाको जस्तो भैदियोस् भन्ने चाहना सबैको हुनसक्छ। तर यति भैदिएको भए नेपालमा नारीहरुको दयनीय अवस्था किन हुन्थ्यो होला र?
आफ्नै राजनीतिक पृष्ठभूमिबाट सभामुख भएकी ओन्सारी घर्ती अनि राष्ट्रपति विद्या भन्डारी पनि बेलाबेला हाँसोको पात्र भइरहेका छन् । हँसिलो मुहार बनाउन नसक्दा र केही शिष्टता नजान्दा विश्वभर हल्लाखल्ला मच्चाएकी सीता दाहालले भड्किलो, महंगो साडी र हिल जुत्ता लगाएर आफ्ना पतिको साथ लागी भारत गएकी भए पनि लडाकुकी अशिक्षित श्रीमतीको कुनी कति हजारको सारी रे भनेर हामीले भन्ने थिएनौं भन्ने कुनैं ग्यारेन्टी छ र?

0 comments
Write Down Your Responses