एमाले सचिव भट्टराईद्वारा प्रधानमन्त्रीको राजीनामा माग

आश्विन १, २०७३- प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।


एमाले प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराईले माओवादी पूर्वलडाकुलाई दिएको बजेट अख्तियारले छानविन थालेकोमा समर्थन जनाउँदै प्रधानमन्त्री दाहालले नैतिक रुपमा राजीनामा दिनुपर्ने बताए । एमालेको भातृ संगठन नेपाल खेलकूद संघको ३ नम्बर प्रदेशस्तरीय भेला चरिकोटमा उद्घाटन गर्दै भट्टराईले भने, ‘राज्यको पैसा लिएर हिसाव नबुझाउने व्यक्ति अहिले नेपालका प्रधानमन्त्री छन् । यदि नैतिकता भएका प्रधानमन्त्री हुन् भने पदबाट राजीनामा दिएर छानबिनलाई सहज बनाउनुपर्छ ।’

‘हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै लडाकुका सर्वोच्च कमाण्डर भएका नाताले उक्त रकम बुझ्ने र खर्च गर्ने प्रमुख जिम्मेवार हुन्,’ भट्टराईले भने, ‘लडाकुको नाममा करिब २० अर्ब राज्यको ढिकुटीबाट खर्च भए पनि अहिले धेरैजसो पूर्वलडाकुले पाउनुपर्ने पैसा नपाएको गुनासो गर्ने गरेका छन् ।’ माओवादी पूर्वलडाकुको नाममा राज्यले खर्च गरेको पैसा नेता पोषिने र चुनावको बेला एमालेको ढाड सेक्न प्रयोग भएको आरोप उनले लगाए ।

उनले बार्गेनिङ र दवावको भरमा अख्तियारले पूर्वलडाकुको हिसाब छानबिन प्रकृया रोक्न नहुनेमा जोड दिए । साथै, उनले अख्तियार प्रमुख लोकमान सिंह कार्कीको फाइल सर्वोच्चको आदेशबमोजिम पेश गर्नुपर्ने बताए । उनले भने, ‘सर्वोच्च अदालतले जे भन्छ, लोकमानले त्यहीं गर्नुपर्छ ।’

कार्यक्रममा सचिव योगेश भट्टराईले हाललाई संविधान संशोधन नहुने बताए । ‘मधेस र पहाडलाई टुक्राउने गरी संविधान संशोधनको प्रस्ताव एमालेले मान्दैन,’ भट्टराईले मधेसवादी केही दलका मागलाई आत्मसाथ गर्दै अघि बढेका कांग्रेस र माओवादी केन्द्रको विखण्डनकारी स्वार्थ पूरा नहुने दाबी गरे । संविधान गतिशील दस्तावेज भएकाले सीमाङ्कन र नागरिकताबाहेक विषयमा संशोधन गरेर जान एमाले तयार रहेको पनि उनले प्रष्ट पारे ।

शनिबार दिउँसो प्रेस चौतारी नेपाल दोलखा शाखाले गरेको प्रेस भेटघाटमा उनले अबको सरकार एमालेकै नेतृत्वमा हुने दाबी गरे । एमालेबाहेक मुलुकको शासनसत्ता चलाउने जवाफदेवी र अनुभवी अरु नदेखिएकोले फेरि सत्ता एमालेको हातमा आउने उनको ठोकुवा छ ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.