प्रेम मनको भन्दा तनको सम्बन्ध सोच्ने अहिलेका केटाकेटीका लागि हाम्रो प्रेम त उदाहरणीय नै थियो । हामी मनदेखि मनसम्म पुगेका थियौ र त्यही रमाएका थियौ । हाम्रोपुरा पढ्नुहोस् विवाह । सुहागरात । दाम्पत्य जीवन । सन्तान सुख अनि बुढेसकाल

आफ्नै कथाले पनि आफूलाई धेरै पटक रुवाउँछ।
 
आज म जहाँ उभिएर आफ्नो घरलाई हेरिरहेको छु, दश वर्षअघि यही आँगनमा खुसीले आकाश छुन्छु झैं गरी उफ्रिएकी थिएँ । प्रथम भएको एसएलसी नतिजाले मलाई आकाश छुने हिम्मत दिलाएको थियो ।
 
आज फेरि यही ठाउँमा उभिएर यो घरलाई माइतीघरमा रुपान्तरण गर्दै पराइ घरलाई आफ्नो बनाउने साहसमा उभिएको छु । जमीन उही, घर उही, म उही, साहस पनि उही । तर कथा बदलिएको छ। कथामा मेरो भूमिका पनि बदलिएको छ। 
 
त्यतिबेलाकी अल्लारे स्मृति कसैकी दुलही भएर अन्मिन आँगनमा उभिएकी छे । रातो पहिरन, गहना, श्रृंगारपटार, जीवनको नयाँ आधार बनेर आएको मेरा दुलाहाले लगाइदिएको सिन्दूर पोते अनि नयाँ जिन्दगीको उत्साहले म साँच्चै बिछट्टै राम्री देखिएकी  हुनुपर्छ । आज वर्षकै सबैभन्दा राम्रो साईत भएको दिन रे, माघ शुक्ल त्रयोदशीको दिन अर्थात् फागुन ३ गते ।
 
यति कुरा सोच्दासोच्दै  मेरा आँखा ठीक अघिल्तिर उभिएको युवक माथि पर्यो । सफा चटक्क लुगा लगाएको, अधरभरी मुस्कान लिएर उभिएको मेरो पुकु निकै बदलिएको थियो दश वर्षको अवधिमा । रूप रंग, व्यवहार, जिउने कला अनि हरेक कुरामा उ बिल्कुल अलग भएको थियो भेट भएको समयभन्दा ।  मेरो जीवनमा  दश वर्ष अघि उ प्रणय नाम गरेको साथी बनेर आएको थियो। समयले उसलाई मेरो पुकु  बनाइदियो। 
 
छात्रवृत्तिमा मैले काठमाडौंको त्यो महंगो कलेजमा पढ्न पाएकी थिएँ । कलेजको पहिलो दिन नै उसँग मेरा आँखा ठोकिन पुगे। औसत केटाहरूभन्दा अलि मोटो, गाला पुक्क परेको, गोरो, राम्रो थियो । 
 
बोलिरहनु पर्ने, जीवनको सार नै हाँसो हो जस्तो गर्ने मेरो व्यवहार अनि हाँस्न कमै रुचाउने उसको व्यवहारमा केही पनि मेल खाँदैनथ्यो।
 
उ एकदम कम बोल्ने, साथीहरुसँग रमाउन नसक्ने भए पनि पढाईमा भने तेज थियो ।
 
सोह्र वर्षको उमेरमा मेरो मनले कल्पेको सपनाको राजकुमार ठ्याक्कै  उ जस्तै थियो । त्यसैले पनि होला म उसको आनाकानीका बाबजुद् पनि उसको नजिक भैरहन्थें। बिस्तारै उसले पनि मलाई साथीको रुपमा स्वीकार गर्न थाल्यो । 
 
अन्मिएपछि बिदाईका निम्ति सार्नु पर्ने पाईलाहरु टक्क रोकेर म पुकुसँगको विगतमा हराएँ।
 
वैशाख १ गते नै थियो । तिमी स्वयम्भुको सिढीमा मसँग पोखिएका थियौ । हो त्यही दिनबाट मैले तिमीलाई पुकु शब्दले मेरो मन नजिक तानेकी थिएँ । तिमी हेर्दा मात्र होइन जीवनको भोगाईले पनि मेरो माया पाउन लायकका रहेछौ भन्ने थाहा पाएको त्यही दिन थियो । 
 
बैंकमा जागिरे तिम्री आमा र व्यापारी बाबाले  साथमा नराखी तिमीलाई ५ वर्षको उमेरमै होस्टेलमा राखेको बिगतले मलाई झस्काएको थियो । अझ एसएलसीको परीक्षाताका तिम्रो बाबा र आमाको सम्बन्ध बिच्छेद भएको, तिम्री आमा अमेरिका उडेको अनि बाबाले नयाँ आमा ल्याएको घटनाले तिम्रो मनमा कस्तो हलचल ल्यायो होला भनेर म सहजै अनुमान लगाउन सक्थें। तिम्रो सहन सक्ने क्षमताभन्दा पनि ठूलो र क्रुर यथार्थको हुण्डरीले तिमीलाई उडाउन नदिने प्रण सहित त्यो दिनबाट मैले तिम्रो साथ कहिले पनि छोडिनँ । आजसम्म पनि छोडेकी छैन । 
 
स्नातकको शुरुवात पनि मैले तिम्री मिल्ने साथीको रूपमा नै गरेको थिएँ । तिमीलाई पनि याद होला, तेस्रो वर्षमा तन्नेरी युवती भैसकेकी मैले नै  प्रेम प्रस्ताव राखेको थिएँ । 
 
संयोग पनि कस्तो परेको । आज फागुनको ३ गते हो नि । सायद त्यो दिन भ्यालेण्टाईन डे थ्यो क्यारे . सारा शहर नै प्रेमनगरीमा परिणत भएको थियो . त्यसैले होला त्यो दिनको बिहानको हावा पनि अरु दिन जस्तो चिसो लागेन . आजभन्दा ५ वर्ष अघि आजकै दिन तिमीलाई मैले प्रेमको याचना गरेको थिएँ । तिमी आज जस्तैगरी उभिएका थियौ मेराअघि।  सफाचट् मिलेका लुगामा आज जस्तै तिम्रो ओठमा मुस्कान भरिएको थियो । 
 
मेरो प्रेमयाचनाले तिम्रो जीवनको त्यस्तो यथार्थ अघि ल्याउँछ भन्ने  कल्पनासम्म गरेकी थिइनँ । तिम्रो यथार्थ पहिले थाहा पाएको भए  तिमीलाई यो भँगालोबाट पनि पहिले नै उम्काउने थिएँ ।
 
त्यो दिन म तिम्रो आँसु पुछिरहें। तिम्रो हात समाई रहें। तिमीलाई अँगाली रहें। तर तिमीले आफ्नो वास्तविकता मलाई बताउँदै दुबै हात मेरो सामु फिजाएर देखाउँदा, लागू औषध दुर्व्यसनको शिकार भएर छिया छिया भएको तिम्रा पाखुरा हेर्न डराईरहेकी थिएँ । तिम्रो मनमा कति दुखको भाला रोपियो होला र त शरीरलाई तिमीले त्यति पिडा दियौ ।
 
मनमा चलेको सुनामी थामथुम पारेर म तिमीसँग छुट्टिएकी थिएँ । तिमी फेरि मेरो पुकु भएर फर्कने हौ वा आमा बाबाको लडाइँमा सहिद हुने हौ, म दोधारमा थिएँ । तर आज तिमी मेरो सामु छौ मुस्कान सहित, जीवन जिउने हौसला अनि रहर सहित ।
 
तिम्रो बाबा, मेरो बाबाको समझदारी र सहयोग अनि तिम्रो आत्मविश्वासले नै होला तिमी त्यो दुर्व्यसनबाट मुक्त भयौ । तिमी पुनर्स्थापना केन्द्रमा हुँदा हरेक दिन तिम्रो साहसको लागि म भगवानलाई सम्झन्थें। छ महिनापछि त्यहाँबाट तिमी फर्कियौ । पातलो ज्यानमा नयाँ उर्जा अनि मनमा मेरो लागि माया लिएर फर्केका थियौ । साँच्चै मेरो नै भएर फर्किएका थियौ । 
 
साँझ घर फर्केर एक्लै दंग पर्दै पलंगमा पल्टिरहें । स्मृतिमा विगतका  दृष्यहरूले चक्कर मारिरहे सिनेमाको रिल झैं। अनि एकाएक भित्तामा झुण्डिएको पात्रोमा आँखा परे। कस्तो संयोग फेरि पनि ३ गते नै परेको रहेछ तर चिसो पुसको ।
 
बैंकको तिम्रो जागीर, पढाईमा लगनशिलता अनि मेरो साथले तिमीलाई बाँच्नुको उर्जा मिलेको थियो सायद। त्यसैले तिमी सबै क्षेत्रमा सफल हुँदै थियौ । तिम्रो पुस्तकले पनि तिमीलाई बजारमा चिनाउन थालिसकेको थियो  । जागिरमा प्रमोसन,  पढाईमा पदक । उन्नति त तिम्रो जस्तो पो त हुनु  । आफ्नैले पनि डाहा गर्न थालिसकेका थिए। 
 
हाम्रो परिवारले हाम्रो सम्बन्ध सजिलै स्वीकार गरिदियो । चलचित्रमा जस्तो न कुनै खलनायक न कुनै पारिवारीक खिचातानी  । न कुनै थ्रिलर वा कुनै सस्पेन्स । न मसँग कोही अरुको सम्बन्ध । न तिमीसँग कोही अरुप्रतिको आकर्षण । बिना कुनै अवरोध हामी एक अर्कासँग जीवन जिउन सफल हुँदै थियौं ।
 
प्रेम मनको भन्दा तनको सम्बन्ध सोच्ने अहिलेका केटाकेटीका लागि हाम्रो प्रेम त उदाहरणीय नै थियो । हामी मनदेखि मनसम्म पुगेका थियौ र त्यही रमाएका थियौ । हाम्रो विवाह । सुहागरात । दाम्पत्य जीवन । सन्तान सुख  अनि बुढेसकाल । यी सबैको कल्पनाले हाम्रो मनको मझेरी नाघेका थिएनन् । जीवनका भोगाई नै यस्ता भै रहेका थिए कि रोमान्स अनि भविष्यको कुरा गर्ने समय नै कहाँ रह्यो र हामीसँग ?  वर्तमानलाई सम्हाल्दा सम्हाल्दै हामी तन्नेरी प्रेमिल जोडीभन्दा पृथक तर एक अर्कालाई जीवनसाथीको रुपमा स्वीकार्न तयार जोडी भइसकेका थियौं।
 
विवाहको मिति तय गर्ने पक्का पक्की हुँदा तिमी अकस्मात मेरो घरमा आफू एचआईभी संक्रमित भएको प्रमाण बोकेर आयौ। जीवनमा तिमीसँग जुन बाटो तय गर्ने अन्तिम तयारीमा हामी थियौं, त्यही बाटो भत्किएको सबुत तिमी मलाई देखाउँदै थियौ । तिमी कति ईमान्दार धोकेवाज है । मेरो संसारमा ८ रेक्टर स्केलको भुकम्पको रमिते भएर न उभिरहन सकें, न ढल्नै सकें । मन छिया छिया भयो । सपना टुक्रा टुक्रा भए । मेरो मनमा आँधीहुरी चलिरहँदा तिमी भने उस्तै शान्त थियौ । सायद तिमीले अशान्त हुनुको सीमा पार गरिसकेका थियौ। अविरल तिक्त भोगाईले तिमीलाई सम्हालिन आँट आयो होला। तर म यो कटु सत्य सम्हाल्न नसकेर झण्डै भत्किएकी थिएँ ।
 
निन्द्रा लाग्ने औषधीको प्रभाव कम गर्न मलाई तिन दिन पाटन अस्पतालमा भर्ना गर्दा तिमीले एकपल पनि साथ छोडेनौ रे । तर आज तिमी जीवनभर मलाई अरुको अर्धाङ्गीनीको रुपमा बिदाई गरिरहँदा मुस्कुराएर मेरो अघिल्तिर नै उभिएका छौ । भाग्य लेख्ने भावीले नै सायद यस्तै लेखिछन्।
 
मलाई भत्किन दिएनौ । अनि आफू पनि भत्किएनौ । मेरो जीवनमा नयाँ उर्जा भरिदियौ । तिमीलाई सपनाको राजकुमार मान्ने मलाई नै अरुसँग बिहे गरिदिएर मेरो माईतीघरबाट अन्माउन सफल भयौ । मैले सजाएर राखेको ठाउँमा नयाँ व्यक्ति उभाईदिएर मलाई जीवनको सबै खुसी पाउनको लागि योग्य बनाईदियौ । कुनै दिन जीवनको मूल्य मैले तिमीलाई बुझाईरहेको थिएँ । आज तिमी मलाई बताइरहेका छौ ।
 
"मसँग तिमी सधैँ हुनेछौ । यो जीवन जहिलेसम्म रहनेछ, त्यतिबेलासम्म तिमी यही मनमा हुनेछौ। 
 
जीवन आदर्शमा पटक्कै चल्दैन । त्यसैले मैले यथार्थलाई स्वीकारें। तिमी मेरो सपनाको राजकुमार, सपना नै भएर आयौ अनि हरायौ पनि। फेरि खोजी गर्ने आवश्यकता र औचित्य मैले देखिनँ । तिमीसँगका पानी भित्रको छाँया जस्ता स्मृतिले बेलाबेलामा चसक्क घोचे पनि अचेल म त्यसैमा अभ्यस्त भइसकें।
 
म तिम्रो अघिल्तिर छु । तिमीले बचन दिएका छौ, यसरी नै बाँचुन्जेल जीवनमा मुस्कान भरिरहनेछौ । बिदाईमा बगिरहेका मेरा आँसु अब तिम्रो यादमा बगाउने छैन ।
 
अब केही क्षणमै म बिदा हुनेछु । यो घरबाट । तिम्रो जीवनबाट । तिम्री हुनुको पहिचानबाट ।
 
यो घरबाट अन्मिएर, दाइको हात समाएर, म मेरा दुलहासँग हिँडिरहँदा मेरा पाईलासँगसँगै हिँडिहरेका तिम्रा नजरको अनुभूति गरिरहेको छु । हाँस्दै हाँस्दै मतिर हेरेर बिदाईको हात हल्लाईरहँदा तिम्रो मुटुको बढ्दै गरेको चालको अनुभूति गरिरहेछु । अनि तिमी मेरो आफ्नै भएर पनि आफ्नो बनाउन नपाउनुको कथा बोकेर अघि बढिरहेछु। मेरो पुकु अर्कै कथाको पात्र हुन तिमीसँग बिदा मागिरहेकी छु । 

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.