यी हुन् लामो रुटकी साहसी महिला चालक 'लक्ष्मी' ! जो झापा-काठमाडौँ सुमो चलाउँछिन् !


तेजन खड्का, उर्लाबारी, २६ कात्तिक, छोटो दुरीमा मात्र महिलाले सवारी चलाइरहेका बेला मोरङ मधुमल्ला तोरीबारीकी लक्ष्मी पाण्डेले महिला पनि कुनै काम गर्न कम छैनन् भन्ने उदाहरण प्रस्तुत गरेकी छिन् । पाण्डेले त्यस्तो साहस लिएकी छिन्,

 जसले झापा–काठमाडौं यात्रा गर्नेहरुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउने जिम्मेवारी सम्हालेकी छिन् । हल झापा दमक बस्दै आएकी झापा–काठमाडौँ सञ्चालन हुने मे १ ज २१६३ नम्बरको टाटा सुमो चलाउने लक्ष्मी सम्भवतः लामो दुरीमा सवारी चलाउने नेपालकै पहिलो महिला चालक हुन् । गत असोज २४ गतेदेखि नियमित रुपमा उक्त रुटमा सवारी चलाउन थालेकी उनले हालसम्म निकै ठूलो आत्मविश्वास जुटाइसकेकी छिन् ।

 'सुरु–सुरुमा त यात्रुहरु आफूले चलाउने गाडी चढ्नै डराउँथे, तर मसँग गाडीमा एकपटक सवार गरेकाहरुले भन्छन् 'अब त ती नानीले चलाउने गाडीमै जाने है भन्छन्', लक्ष्मीले सुनाईन् । आफूले गाडी चलाउने सुरुवाती चरणमा भएको एउटा घटना सम्झदै उनले भनिन्, 'एकपटक दमकबाट काठमाडौँ आउने बेला, त्यस्तो अफ्ठ्यारो बाटोमा केटीले चलाएको गाडीमा नजाने भनेर महिलाहरुकै एउटा समुहले काउन्टरमै विरोध गरे । सहकर्मीहरुले मनाएपछि गाडी चढ्न तयार भएका उहाँहरुले पछि त आफन्तसँग फोनमा कुरा गर्दा, ड्राइभिङ राम्रो छ भनेको सुने ।

अनि केही बोलेनन्, पछि राम्रो कुदाएर गन्तब्यमा पुर्याएपछि धन्यवाद है बहिनी भन्दै स्यावास दिदैं जानुभयो ।' लक्ष्मीले भनिन् 'राज्यका सबै तह र क्षेत्रमा महिलाको सहभागिता बढाउन खाली राज्यको मात्रै आस गर्नुभन्दा आफै महिलाले आँट गर्ने हो भने कसैले हरेक तह र तप्कामा महिलालाई छेक्न सक्ने छैनन् ।' लामो यात्रा त्यसमाथि पनि घुमाउरो, उकालो र साँघुरो बाटोमा महिलाले सवारी चलाएको दृश्य देख्दा यात्रुहरुमात्र होइन चेकिङमा खटिएका सुरक्षाकर्मीलाई समेत अचम्मित पारेको अनुभव लक्ष्मीसँग छ ।   मध्यराती, सुनसान राजमार्गमा एक्ली महिलाले गाडी हाँकेको देखेर प्रहरी आत्तिएको घटना पनि उनको मानसपटलमा स्मरणीय बनेको छ ।

दुई बर्षअघि दमकमै ड्राइभिङ सिकेकी २८ वर्षीय लक्ष्मीले सुरुवातबाटै आफ्ना गुरु, अभिभावक र आफन्तहरुको हौसला पाईन् । झापा–काठमाडौँ चल्ने बसमा सहचालकको समेत अनुभव संगाली सकेकी उनले पहिलेदेखि नै आफैले सवारी चलाउने सपना बुन्दै आएकी थिईन्  । गाडी चलाउन सुरु गर्दादेखि अहिलेसम्म कसैले पनि हतोत्साही बनाएका छैनन् रे लक्ष्मीलाई । सायद, समयसँगै मानिसको मानसिकतामा परिवर्तन हुँदैछ भन्नेमा विश्वस्त छिन्, उनी ।

भन्छिन् 'महिलाले देश चलाउन सक्छन्, संसार जित्न सक्छन्, गाडी कुदाउनु कुन ठुलो कुरो भयो र ?' तर, गाडी चलाउने क्रममा बेला–बेला बाटोमा पुरुष चालकले जिस्काउने नियतले ओभरटेक गर्न दिने र फेरि ओभरटेक गर्ने जस्ता हरकत देखाउने गरेको उनी बताउँछिन् । यद्यपि, उनीलाई त्यस्तो प्रवृत्तिको वास्ता छैन । आफ्नो अगाडिको बाटो र यात्रुहरुको सुरक्षाको मात्र उनलाई परवाह हुन्छ । लामो दूरीको यात्रामा एक्लैले ७ र ८ घन्टासम्म लगातार गाडी कुदाउने गरेको र आवश्यकता परे २४ घन्टामा दुई पटकसम्म दमक–काठमाडौँबीच ओहोरदोहोर गर्ने साहस आफूसँग रहेको उनले बताईन् ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.