धरानमा १७५ मिटर अग्लो बुद्ध मूर्तिकाे भयाे शिलान्यास

इटहरी, २३ कात्तिक । धरान उपमहानगरपालिका–२० को छोटी मोरङमा निर्माण गरिने विशाल हजार बुद्ध (थाउजेण्ड बिग बुद्ध) विहारको सभामुख ओनसरी घर्ती र थाई सरकारका वरिष्ठ धार्मिक सल्लाहकार फ्रा शासना शोभानाले संयुक्त रुपमा आज धार्मिक एवम् वैद्धिक विधिपूर्वक पूजापाठ गरेर शिलान्यास गर्नुभएको छ ।पर्यटकीय क्षेत्र भेडेटारदेखि केही तल्लो भागमा रहेको छोटी मोरङको १० बिघा क्षेत्रफलमा दुईतले बौद्ध विहारको माथिल्लो भागमा १७५ मिटर अग्लो अर्धकद भएको बुद्ध मूर्तिसँगै तल्लो तलामा एक हजार बुद्धको अर्धकदका मूर्ति रहनेछ । सुनसरी उद्योग वाणिज्य सङ्घ समेतका सक्रियतामा यस विहार निर्माण हुन लागेको हो ।buddha-statue-in-dharan

इटहरी र धरानबाट सहजै नाङ्गो आँखाले समेत देखिने गरी उच्च दृश्यावलोकन गर्न सकिने ढङ्गले डिजाइनिङ गरी सूर्योदय बौद्ध विहारले परिकल्पना गरेको थाउजेण्ड बिग बुद्ध विहार अहिलेसम्मकै सबैभन्दा ठूलो र आकर्षक ढङ्गको हुने बताइएको छ ।
करिब एक अर्बको लगानी रहने थाउजेन बिग बुद्ध विहार बौद्ध धर्मावलम्बीको पुजनीय र पर्यटकीय आकर्षणको केन्द्रका रुपमा हुने बताइएको छ । उक्त स्थानमा बौद्ध धार्मिक पूजास्थल केन्द्र आकर्षक पार्कलगायतका भौतिक पूर्वाधारसँगै चिकित्सकीय भवनसमेत रहने धरान नगरपालिकाका इन्जिनियर सुरज श्रेष्ठले बताउनुभयो ।
थाइल्यान्ड, हङकङ अस्ट्रेलिया, बेलायतलगायतका देशमा बसोबास गर्ने बौद्धिस्टको सहयोगमा निर्माण हुने थाउजेन बिग बुद्धको निर्माणले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी मात्र होइन अब धरानको यो बूढीमोरङ पनि बुद्ध धर्मावलम्बीको गन्तव्यस्थलका रुपमा विकास हुने बताइएको छ ।
उक्त अवसरमा सभामुख ओनसरी घर्तीले अत्यन्तै ठूलो महत्वकाङ्क्षी पर्यटन प्रवद्र्धन गर्ने योजना सहितको यो धार्मिक तीर्थभूमि निर्माण गर्नु हामी नेपालीको गौरवको विषय भएको बताउनुभएको छ । उहाँले नेपाल धेरै जातजाति र धर्मावलम्बीको साझा तपोभूमि भएकाले हामी सबै मिलेर यसको श्रीवृद्धिमा लाग्न साझा प्रतिबद्धता र एकता जरुरी छ भन्नुभयो ।
विश्वमा नेपाल एक हिन्दू राज्य, भगवान् गौतम बुद्धको जन्मभूमि अनि विश्वको अग्लो चुचुरो सगरमाथा भएको देशका नामले प्रख्यात रहेको उल्लेख गर्नुहुँदै धरान उपमहानगरपालिका सूर्योदय बौद्ध बिहार र यस थाउजेण्ड बिग बुद्ध विहारले नेपालको शिर उच्च बनाउन थप मद्दत पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
त्यस अवसरमा परिकल्पनाकार भिक्षु मेघाङ्करले भगवान् गौतम बुद्धको जन्मभूमि लुम्बिनी मात्र नभएर नेपालको सबै भूमि नै बुद्ध जन्मभूमि भएको चर्चा गर्नुभयो । धरान उपमहानगरपालिकाका निमित्त कार्यकारी प्रमुख गणेशप्रसाद खतिवडाको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा सांसदहरु मनोहरनारायण श्रेष्ठ कृष्णकुमार राई, प्रदीप भण्डारी, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य चोत्लुङलगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.