विप्लवका युवाले भ्रष्ट र दलालीलाई भोलिदेखि कारबाही गर्ने

काठमाडौं, २५ कात्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी निकट युवा संगठनले शुक्रबारदेखि भ्रष्टाचारी र दलालीलाई कारबाही गर्ने घोषणा गरेका छन् ।
राष्टिय युवा जनस्वयंसेवकले विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कात्तिक २७ गतेदेखि देशभर सामाजिक कारबाही गर्ने घोषणा गरेको हो । ‘राष्ट्रका लागि युवा’ नाम दिएर अभियानकै रुपमा भ्रष्टाचारी र दलालीलाई कारबाही गर्ने उसले घोषणा गरेको छ ।
‘राष्ट्रका लागि युवा’ नामको अभियानमार्फत देशैभरका भ्रष्ट र दलालहरुको आश्रयस्थल खोजी सामाजिक कारवाही गरिने जनस्वयंसेवकका अध्यक्ष झकबहादुर मल्लले बताए । विप्लव माओवादीले नेपाल बन्दको आयोजना गरेको एकदिनअघिदेखि नै कारबाही गर्ने अभियान चलाएर ब्यापारीहरुलाई थप आकंकित बनाउने योजना ल्याएको छ ।
पत्रकार सम्मेलनमा खाद्य सम्प्रभुतालाई सुनिश्चित गर्न अखाद्य सामाग्री वितरण गर्ने, चर्को मुल्यमा विक्री गर्ने एवं कमिशनखोरहरुका भण्डारण खोजी गरेर सामाजिक कारवाही गरिने मल्लले बताए ।
खाद्य निर्यातमा अनुगमन गर्ने र अखाद्य बस्तु विक्री गर्नेलाई नियन्त्रणमा लिएर जनतामाँझ भण्डाफोर गर्नु अभियानको मुख्य उद्देश्य रहेको उनले बताए । खाद्य सम्प्रभुताकै लागि भन्दै विप्लव माओवादीले कात्तिक २८ गते नेपाल बन्दको आह्वान गरेको छ ।
काठमाडौं सफाइ अभियान
विप्लव माओवादी युवा संगठन राष्ट्रिय युवा जनस्वयंसेवकले काठमाडौं सफाइ अभियान पनि अघि सारेको छ । संगठनको केन्द्रीय समितिको बैठकले कारबाही अभियानकै क्रममा काठमाडौं उपत्यका सफाइ गर्ने कार्यमा केन्द्रीत हुने निर्णय पनि गरेको जनाएको छ ।
उपत्यकामा रहेको ट्राफिक जाम हटाउने, फुटपाथ व्यवस्थित गर्ने, सार्वजनिक तथा सरकारी सेवालाई सहज गराउने जस्ता कार्य हाम्रो अभियानका प्राथमिक कार्यभित्र पर्ने उनीहरुले बताए ।

0 comments
Write Down Your Responses